स्थानीयस्तरका लक्ष्यअनुसार प्रगति नभएका सूचकहरूको सामाजिक व्यवहार (सामाजिक मूल्यमान्यता, संस्कार, रीति चालचलनहरूको) पहिचान तथा विश्लेषण
स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली HMIS बाट उपलब्ध तथ्यांकहरुले सामाजिक व्यवहारको बारेमा (सामाजिक मूल्य मान्यता, परम्परा आदि) राम्ररी चित्रण गर्न सक्दैन । समुदायमा भएको मूल्य मान्यता, रितीरिवाज, परम्परा र संस्कृतिका बारेमा थाहा पाउनु ज्यादै महत्वपूर्ण हुन्छ । समुदायमा प्रत्यक्ष प्रभाव पर्ने गरी काम गर्न समुदायको बारेमा धेरै भन्दा धेरै जानकारी लिनु पर्ने हुन्छ । अप्रत्यक्ष छलफलबाट पनि जानकारी लिन शुरु गर्नु पर्दछ । समुदायमा पुगेर प्रत्यक्ष रुपमा समुदायको अनुभवमा समस्याको कारण र समाधानका उपाय उनीहरुबाटै थाहा पाउन आवश्यक हुन्छ । यसका लागि समुदायमा नै गएर समुदाय र सेवाग्राहीहरुसँग प्रत्यक्ष छलफल गरी तथ्य संकलन गर्नुपर्छ ।
समुदायसँग बसेर उनीहरुले भनेका कुराहरुलाई ध्यानपूर्वक सुन्नु पर्दछ । समूदायसँग छलफल गर्दा उनीहरुलाई बोल्न प्रशस्त समय दिँदै उनीहरुलाई लागेका कुराहरुमा तपाई सरोकार राख्न्नुहुन्छ र उनीहरुका आवश्यकता र समस्याहरुबाट सिक्न चाहानुहुन्छ भन्ने देखाउनु पर्दछ ।
१. समुदाय र लक्षित समूहसँग प्रत्यक्ष छलफल प्रक्रिया
समुदाय र लक्षित समूहसँग निम्न व्यक्तिद्वारा प्रत्यक्ष छलफल गराउन सकिन्छ:
- समुदाय र लक्षित समूह छलफलका अनुभवी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहयोग लिएर ।
- सहभागी : सेवा र कार्यक्रमसँग सम्बन्धित लक्षित समूहबाट प्रतिनिधित्व हुने गरी सहभागी छनोट गर्ने ।
२. समुदाय र लक्षित समूहसँग प्रत्यक्ष छलफलको लागि आवश्यक तयारी
- छलफल कुन स्थानमा गर्ने हो समयमै यकिन गर्ने र स्थानीय स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रमबारे जानकारी गराउने ।
- समुदाय र लक्षित समूहबाट छलफलको लागि ८ देखि १० जनासम्म जम्मा गर्न लगाउने (धेरै व्यक्ति भएमा छलफल गर्न गाह्रो हुन्छ) । कस्तो व्यक्तिलाई जम्मा गर्ने पहिला नै प्रस्ट पार्ने ।
- छलफलको लागि अरुबाट बाधा नपुग्ने स्थान वा कोठा छनोट गर्ने । छलफलको लागि दुई जना जाने (एक जनाले छलफल गर्ने र अर्कोले छलफलबाट आएका कुराहरु टिप्न) ।
- सहभागीहरुलाई आफू आउनुको कारण प्रस्ट पार्ने र यहाँ छलफलको क्रममा आएका कुराहरु अन्य ठाउँमा व्यक्तिगत सूचनाको रुपमा प्रयोग नगरिनेबारे जानकारी गराउने ।
- नम्रतापूर्वक प्रस्तुत हुने, सहभागीहरुको कुरालाई ध्यानपूर्वक सुन्ने, खुला प्रश्नहरु गर्ने, सम्पूर्ण प्रक्रियामा हतार नगर्ने ।
- संकलन गरिएका सूचानाहरु आवश्यक परेको समयमा तुरुन्त पाउने गरि राख्नु पर्दछ ।
छलफलबाट विस्तृत जानकारी लिन प्रश्न सोध्ने तरिका:
१. उहाँहरुको उत्तरको बारेमा थप जानकारी लिने । उदाहरणको लागि
- .............बारेमा अझ भन्नुहोस्
- ..............को उदाहरण दिनुहोस् ल अनि के भयो ?
२. उत्तरकोे बारेमा थप सूचनाहरु खोतल्नुहोस् ।
- के कारणले तपाईले यसो भन्नुभयो?
- यो के बारेमा थियो जसले गर्दा तपाईले यो निर्णय गर्नुभयो ?
३. कुनै कुरा एक आपसमा बाझिराखेको छ भने प्रष्ट हुनुहोस् ।
- ................ भनाईलाई प्रष्ट पार्नुहोस्।
- पहिला तपाईले ..........भन्नुभएको थियो तर यो ...............पनि लाग्छ ? प्रष्ट पार्नुहोस् ।
उदाहरणको लागि
सुरुमा प्रश्न गरेपछि थप जानकारीको लागि प्रश्न थप्दै जाने, समुदाय र लक्षित समूहसँग छलफलका लागि स्वास्थ्यका केही विषयमा तयार गरिएको प्रश्नावली तल तालिकामा प्रस्तुत गरिएको छ ।
समुदाय र लक्षित समूहसँगको छलफल व्यवस्थापनको लागि पञ्चपुरी नगरपालिका सुर्खेतले तयार पारेको योजना उदाहरणको लागि अनुसूची १ मा राखिएको छ । समुदाय र प्रत्यक्ष सेवाग्राहीसँगको छलफलको प्रतिवेदन उदाहरणको लागि अनुसूची २ मा राखिएको छ ।
३. सरोकारवाला संंघसंंस्थाहरुसँग समन्वय
समुदायमा छलफल गर्दा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष वा अन्य पदाधिकारी र स्थानीयस्तरमा रहेका जनप्रतिनिधि वा कार्यपालिकाका सदस्यहरु र सो क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि ‘पी प्रक्रिया’को विश्लेषणदेखि नै सहभागी बनाउँदै जानु पर्दछ । यसो गर्दा सबैको कार्यक्रमप्रतिको बुझाइ एकैनासको हुन्छ, जसले गर्दा कार्यक्रम छनोट र कार्यान्वयनमा पनि सहयोग पुग्छ ।